काठमाडौं। बाँकेको बैजनाथ गाउँपालिका ४ नौलापुरमा हराएको आठ दिनपछि ९ वर्षीय बालकको शव गाडिएको अवस्थामा फेला परेको छ । कोहलपुर नगरपालिका ११ हरियाली मार्गमा कोठा भाडामा लिएर बुवा र आमासँग बस्दै आएका कुशल बुढाको शव गाडिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
कुशल यही वैशाख ८ गते घरबाट हराएको भनि प्रहरीलाई जानकारी गराइएको थियो । गाई भैंसी चराउन गएका स्थानीयले सडेको दुर्गन्ध आएपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा गाडिएको अवस्थामा बालकको शव भेटिएको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख रेशम पौडेलले बताउनुभयो ।
उहाँले बालकको शव गाडिएको अवस्थामा फेला परेकाले हत्या गरेर गाडिएको हुनसक्ने आशङ्का गरिएकाले अनुसन्धान तथा सोधपुछ गर्ने कार्य भइरहेको बताउनुभयो।
प्रहरीका अनुसार मृतक बालकका पहिलो बुवा सानो उमेरमा मृत्यु भइसकेको र आमाले दुल्लु नगरपालिका १० का निरकनाथ योगीसँग दोस्रो विवाह गर्नुभएकाले ती बालक उनिहरूसँगै कोहलपुरमा बस्दै आएका थिए । उनि कोहलपुर माविमा कक्षा तीनमा अध्ययनरत रहेका थिए ।
प्रहरीले घटनाका सम्बन्धमा मृत भेटिएका बालकका आमा र दोस्रो बुवा तथा विद्यालयका विद्यार्थी तथा शिक्षकहरूसँग समेत सोधपुछ गरिरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रमुख पौडेलले बताउनुभयो। उहाँले बालकको मृत्युको घटनाबारे अनुसन्धान तीव्र गतिमा भइरहेको हुँदा छिट्टै सत्यतथ्य जानकारी बाहिर ल्याइने पनि बताउनुभयो ।