काठमाडौं। अछाममा महिनावारी बार्न खेतमा पाल टाँगेर सुतिरहेको अवस्थामा ढुंगा खसेर लाग्दा २ जनाको मृत्यु भएको छ। यस्तै अर्की एक महिला घाइते भएकी छिन्।
प्रहरीका अनुसार जिल्लाको अछामको पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलमा मंगलबार बिहान करिब ५ः३० बजे भीरबाट खसेको ढुङ्गाले त्रिपालमुनि सुतेका तीन जनालाई च्याप्दा घटनास्थलमै दुई जनाको ज्यान गएको हो।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा गोरे भण्डारीकी ७ वर्षीया छोरी कविता भण्डारी र ३५ वर्षीया निम खनाल छन् । घटनामा कविता भण्डारीकी आमा ३६ वर्षीया रत्ना भण्डारी गम्भीर घाइते भएकी छन् । उनको टाउकोमा गम्भीर चोट लागेको छ । उनलाई उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
उनको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए । अविरल वर्षाका कारण भीरबाट खसेको ढुङ्गाले त्रिपाल टाँगेर सुतिरहेका उनीहरुलाई ढुङ्गाले लागेको थियो । तीमध्ये दुवैजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक खनाल र भण्डारी दुवैजना माइतीघरमा आएर महिनावारी भएपछि खेतमा पाल टाँगेर सुतेका थिए । भण्डारीकी ७ वर्षीया छोरी आमाको मायाले उनीहरूसँगै त्रिपालमुनी सुतेकी थिइन् । आमा गम्भीर घाइते हुँदा छोरीसहित थप एक जनाको मृत्यु भएको हो ।