Logo

एकीकृत समाजवादीको महाधिवेशन सर्ने निश्चित


Nagarik Abaj १५ मंसिर २०८०, शुक्रबार १३:१९ मा प्रकाशित

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन सर्ने भएको छ। एकीकृत समाजवादीको गत भदौ ७ गतेको केन्द्रीय कमिटीले माघ १४ देखि १८ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो।

काठमाडौंमा गर्ने भनिएको पहिलो महाधिवेशन राष्ट्रिय सभाको निर्वाचनको कारण धकेलिने सम्भावना देखिएको उपाध्यक्ष राजेन्द्र पाण्डेले जानकारी दिए।

‘राष्ट्रिय सभाको निर्वाचनका कारण महाधिवेशन अलिक पछाडि सर्छ। त्यसबारे आगामी सचिवालय बैठकमा छलफल हुन्छ,’ पाण्डेले भने।

सरकारले राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते गर्ने निर्णय गरेको छ। फागुनमा राष्ट्रिय सभाका २० सांसदको पद रिक्त हुँदैछ। एक महिनाअगावै निर्वाचन गर्नुपर्ने व्यवस्थाअन्तर्गत् माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुन लागेको हो।

उपमहाचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले पनि महाधिवेशन सर्ने सम्भावना रहेको बताए। ‘महाधिवेशन पर सारेर राष्ट्रिय सभाको निर्वाचनमा केन्द्रित हुनुपर्ने देखिएको छ,’ उनले भने।

यसैबीच एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ। मंसिर १८ गते बोलाइएको सचिवालय बैठकमा महाधिवेशन, विवादित अन्तरपार्टी निर्देशन र राष्ट्रिय सभा निर्वाचनबारे छलफल हुने खतिवडाले जानकारी दिए।


ताजा समाचार