Logo

घर बनाउँदा कसरी सरोकारवालासँग डिल गर्ने? जान्नुहोस् उपाय !


Nagarik Abaj ५ मंसिर २०८०, मंगलवार १६:३१ मा प्रकाशित

काठमाडौं । घर बनाउँदा संरचना निर्माण र इन्टेरियर गरी दुई चरण हुन्छन् । संरचना निर्माणको काम घर बनाउने महत्वपूर्ण चरण हो । निर्माण सामाग्रीहरुको खपत हुने पनि संरचना निर्माणमा नै हो । अहिले निर्माण सामाग्रीको बजार पनि धेरै प्रतिस्पर्धी बनेको छ । त्यसैले प्रतिस्पर्धी बजारमा निर्माण सामाग्रीको मूल्यमा त्यति धेरै फरक नहुने केएसएमका सञ्चालक तण्डुकार बताउँछन् ।

बजारमा दर्जनौं ब्रान्डका निर्माण सामाग्री उपलब्ध छन् । कतिपय निर्माण सामाग्री तुलनात्मक रुपमा कमसल र सस्तो पनि छन् । र, कतिपय सामाग्री गुणस्तरीय र अलि महंगो पनि पर्छ । मनग्ये पैसा हुनेले जतिसुकै महंगो निर्माण सामाग्री पनि प्रयोग गर्दा भयो । तर, धेरैले घर बनाउँदा लागत कम गर्न चाहेका हुन्छन् । अर्थात् घर पनि बलियो बनोस र खर्च पनि कम लागोस् । बजारमा पाइने एनएस चिन्ह प्राप्त निर्माण सामाग्री खरिद गरेर ढुक्कसँग प्रयोग गर्न सकिन्छ । ब्रान्ड अनुसार मूल्य पनि फरक पर्ने हुँदा जुन सस्तो मूल्यमा पाइन्छ, जसले राम्रो डिल दिन्छ त्यही ब्रान्डको सामाग्री प्रयोग गर्न सकिने ठेकेदार कम्पनीहरु बताउँछन्।

केएसम सर्भिसेजका आर्किटेक डिजाइनर मनोज कर्ण घर बनाउने ग्राहकलाई मध्यम रेञ्जको निर्माण सामाग्री प्रयोग गर्न सुझाउँछन् । मध्यम रेञ्जको निर्माण सामाग्री बलियो हुनुका साथै कम खर्चिलो पनि हुने उनको भनाइ छ ।

धेरैजसो निर्माणकर्ता वा ठेकेदारले भवन निर्माणमा आवश्यक पर्ने निर्माण सामाग्रीलाई भित्रि संरचनाको लागि अलग र बाहिरी संरचनाको लागि अलग रुपमा वर्गीकरण गरी सूची बनाएका हुन्छन् । तपाईले त्यसका आधारमा ती निर्माण सामाग्रीको थोक मूल्य कति पर्छ भन्ने कुरा बुझ्नुका साथै कुन सामाग्री होलसेलमा पाइन्छ र कुन सामाग्री होलसेलमा पाइँदैन भन्ने कुराको निर्धारण गर्नुपर्छ ।

हार्डवेयर पसल वा सप्लायर्ससँग बार्गेनिङ डिल गर्नुहोस्

यति तपाईंले निर्माण सामाग्री बिक्रेता वा सप्लायर्ससँग बार्गेनिङ गर्नुभयो भने तोकिएको मूल्यमा केही छुट पाउन सक्नुहुन्छ । भेन्डरबाट कति सस्तोमा मालसमान झिकाउने भन्ने कुरा तपाईंको बार्गेनिङ पावरमा भर पर्छ । त्यसैले बजारमा निर्माण सामाग्रीको मूल्य बुझेर पूर्ण तयारीका साथ भेन्डरसँग निर्माण सामाग्रीका लागि मूल्यमा बार्गेनिङ गर्न सक्नुहुन्छ । यदि तयारी नगरी बार्गेनिङ गर्न खोज्नुभयो भने तपाईंलाई बिक्रेताले घुमाइदिन सक्छन् । अहिले हार्डवेयर पसल वा अनलाइनबाट पनि कुन कम्पनीको निर्माण सामाग्रीको मूल्य कति छ भनेर बुझ्न सकिने तण्डुकार बताउँछन् ।

फेरी, तपाईंको कुराकानी गर्ने शैलीले पनि धेरै प्रभाव पार्छ । ‘राम्रोसँग कुरा गरेर व्यापारीको मन जित्न सक्नुभयो भने धेरै हदसम्म मूल्य घटाउन सकिन्छ’ उनी भन्छन् ।

होलसेल पसलबाट ठूलो मात्रामा निर्माण सामाग्री उठाउनुहोस्

जब तपाईंले कुनै पनि उत्पादन होलसेल वा उद्योगबाट ठूलो परिमाणमा उठाउनुहुन्छ तपाईले कम मूल्यमा निर्माण सामाग्री पाउन सक्नुहुन्छ । किनभने तपाईंसँग बार्गेनिङ पावर पनि बढी हुन्छ । सप्लायर्सले पनि सकभर तपाईंसँग डिल बिगारेर फिर्ता पठाउन चाहँदैन र तपाईंको डिलसँग सहमत हुन आउँछ ।

नृपेश तण्डुकारका अनुसार, खासगरी घर निर्माणको काम गर्दै आइरहेका कम्पनीहरु तथा ठेकेदारहरुले बजारमा सस्तो मूल्यमा निर्माण सामाग्री पाउन सक्छन् । किनभने, उनीहरुले धेरै घरहरु बनाउने हुँदा हार्डवेयर वा सप्लायर्ससँग राम्रो सम्बन्ध हुन्छ । उनीहरुले सप्लायर्ससँग राम्रो डिल गरिरहेका हुन्छन् ।

सामान्यतया थोक तथा खुद्रा बिक्रेताबाट तपाईंले सामान खरिद गर्दा न्यूनतम मात्रामा खरिद गर्न सक्नुहुन्छ र पटक पटक खरिद गर्ने भएकोले छुट पाउने सम्भावना कम हुन्छ । घर निर्माणमा ती सामाग्रीहरु धेरै मात्रामा चाहिने हुनाले खुद्रा व्यापारीमार्फत किन्नुभन्दा ठूला वितरकबाट होलसेलमा खरिद गर्नु उचित हुने तण्डुकार सुझाउँछन् । ‘यसरी निर्माण सामाग्री खरिद गर्दा पक्कै पनि केही रकम सस्तो पर्न आउँछ’ उनी थप्छन् ।

एकमात्र वितरकसँग निर्भर नहुनुहोस्

यदि तपाईंले कुनै एक सीमित वितरकसँग कारोबार गर्नुहुन्छ भने उसले भने अनुसारको मूल्य तिर्नुपर्ने हुन्छ । तपाईंले उसले केहि मात्रामा छुट दिन पनि सक्छ, नदिन पनि सक्छ । तर तपाईंले धेरै वितरक र होलसेलर पहिचान गरेर तुलना गर्नुभयो भने अलि सस्तोमा निर्माण सामाग्रीहरु खरिद गर्न सक्नुहुन्छ । उनीहरुले प्रतिस्पर्धात्मक बजारलाई मध्यनजर गर्दै आफ्नो व्यापार बढाउनको लागि तपाईंलाई राम्रो छुट दिन सक्ने केएसएम सर्भिसेजका आर्किटेक इञ्जिनियर कर्ण बताउँछन् ।

धेरै ठाउँमा बुझेर जसले धेरै छुट दिन्छ र सुपथ मूल्यमा निर्माण सामाग्री बिक्री गर्छ उसैसँग कारोबार गर्नु फाइदाजनक हुने तण्डुकार सुझाव दिन्छन् ।

निःशुल्क ढुवानीको लागि पहल गर्नुहोस्

तपाईंले निर्माण सामाग्रीको मूल्यमा कुराकानी गरिसकेपछि निःशुल्क ढुवानीको लागि पनि आग्रह गर्नु राम्रो हुन्छ । पसलबाट निर्माण स्थलसम्म निर्माण सामाग्री ढुवानी गर्दा पनि मोटो रकम खर्च हुन्छ । तपाईंले बिक्रेतासँग धेरै सामाग्री खरिद गर्ने भएकोले राम्रोसँग कुराकानी गर्नुभयो भने पक्कै पनि ढुवानीको जिम्मा उसैले लिन सक्छ । यसो गर्दा तपाईंलाई खर्च, समय र मेहेनतको भार कम पर्छ ।

भुक्तानीमा समस्या खडा नगर्नुहोस्

निर्माण सामाग्री खरिद गर्दा लेनदेनको विषयमा बिक्रेताहरुसँग राम्रो व्यवसायिक सम्बन्ध राख्नुपर्छ । तपाईले धेरै मात्रामा निर्माण सामाग्रीहरु खरिद गर्ने भएकोले उधारोमा पनि कारोबार गर्न सक्नुहुन्छ । सप्लायरले तपाईलाई निश्चित सामाग्रीहरु यति दिनभित्र भुक्तानी गर्ने शर्तमा प्रदान गर्न सक्छन् ।

तपाईंले त्यसरी सामाग्री खरिद गरी केहि समयपछि भुक्तानी गर्न सक्नुहुन्छ । तोकिएको भन्दा अलि अगावै तपाईंले भुक्तानी गर्दा केही छुट पाउन सक्नुहुन्छ ।

अझ तपाईंले बिक्रेतासँग क्यासमा मात्र कारोबार गर्ने विश्वास दिलाउनुभयो भने धेरै हदसम्म छुट पाउने सम्भवना बढी रहन्छ । किनभने, कुनै पनि व्यापारीका लागि उधारोमा सामान बिक्री गर्नु टाउको दुखाईको काम हो । उनीहरुले नगदमा कारोबार गर्नका लागि विभिन्न अफरहरु ल्याएका पनि हुन सक्छन् ।


ताजा समाचार