
काठमाडौं । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी करिब एक करोड ९० लाखका पशुपंक्षीको क्षति भएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले भूकम्पमा परी मरेका गाई, गोरु, राँगा, भैँसी, भेडा, बाख्रा तथा पन्छीको मूल्यलाई औसतमा मूल्याङ्कन गरी क्षतिको उक्त विवरण निकालेको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले जाजरकोटमा सबैभन्दा धेरै पशुपंक्षीको क्षति भएको बताउनुभयो । उहाँका अनुसार उक्त क्षेत्रमा एक करोड सात लाख बराबरको क्षति भएको मूल्याङ्कन गरिएको छ । दुवै जिल्लामा छ सय छ घाइते पशुको उपचारसमेत गरिएको छ छ भने जाजरकोटमा मात्रै पाँच सय ९२ पशुको उपचार गरिएको छ ।
उहाँका अनुसार भण्डारण गरिएका धान, गहुँ, मकै, कोदोलगायतको क्षति विवरण सुरु गरिएको छ । कृषि बाली तथा पशुपंक्षी बीमा भएका कृषकको क्षतिपूर्ति दाबी बीमा कम्पनीबाट हुनेछ । विवरणका आधारमा क्षतिपूर्ति उपलब्ध गराउन आवश्यक मापदण्ड बनाइने उहाँको भनाइ छ । प्रदेश तथा स्थानीय तहले पनि क्षतिपूर्ति उपलब्ध गराउने मापदण्ड बनाएको भन्दै प्रभावितलाई एकद्वार प्रणालीमार्फत सो प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको थियो । भूकम्पबाट प्रभावित पशुपंक्षीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको पशु चिकित्सक पूर्ण बुढाले जानकारी दिनुभयो ।