
काठमाडौं । मखमली फूलको मालाको माग अत्यधिक भए पनि मूल्य नपाएकोमा किसानहरूले गुनासो गरेका छन्। भक्तपुरको सूर्यविनायक नगरपालिका, गुण्डुका किसानले नेपालीको दोस्रो ठूलो पर्व तिहारको लागि आवश्यक मखमली फूलको माला उन्न र बिक्री गर्न थालेका हुन्।
यो वर्षको तिहार ढिला भएकाले मखमली फूल सुक्न लागेको उनीहरूको गुनासो छ। एक हप्ता अगाडिदेखि माला उन्न र बिक्री थालेको व्यवसायीहरूले बताए। गुण्डुका व्यवसायीले भाइटीकाको दिन दाजुभाइलाई लगाउने मखमली फूलको मालाको उचित मूल्य नपाएको बताएका छन्।
गुण्डुकी राधा थापाले विगतका वर्षमा जस्तो मखमली फूल र मालाको मूल्य पाउन नसकेको बताइन्। मेहनतअनुसार मूल्य भने जस्तो नभएको उनको गुनासो छ। व्यापार राम्रो भए पनि विगतका वर्षमा प्रतिमाला ३५ रुपैयाँसम्म बिक्री भएकोमा यस वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी मूल्य पाउन नसकेको उनी बताउँछिन्। फूल उत्पादन गरेर माला बेच्दा लगानी मात्रै उठ्ने स्थिति रहेको थापाले बताइन्।
विगतका वर्षमा आठ आना जग्गामा मखमली खेती गर्दा वार्षिक ५० हजारभन्दा बढी आम्दानी गरेकोमा यस वर्ष बजार मूल्य कम हुँदा आम्दानी घट्ने अवस्था रहेको उनी बताउँछिन्।
‘मेहनत भएअनुसार मूल्य अलि बढी पाउन पाए हुने जस्तो लाग्छ तर पाउन सकिएको छैन। व्यापार राम्रो छ तर गत वर्ष प्रतिमाला ३५ रुपैयाँसम्म बिक्री भए पनि यो वर्ष २० देखि २३ रुपैयाँभन्दा बढी पाउन सकिएको छैन। मालाको माग धेरै भए पनि मूल्य पाउन सकिएन। उत्पादनको मेहनतअनुसार मूल्य आउन छोडेको छ,’ थापा भन्छिन्।
थापा थप्छिन्, ‘मैले आठ आना जग्गामा मखमली खेती गरेको थिएँ। यो वर्ष पानीको कारणले फूल राम्रो भएन, मूल्य पनि कम छ। यसकारण गत वर्षको तुलनामा यो वर्ष आम्दानी कम हुने देखिएको छ। यद्यपि, ५० हजारसम्म आम्दानी हुने आशा छ।’
गुण्डुकै अर्की पुष्प व्यवसायी निर्मला बस्नेतको पनि थापाको जस्तै गुनासो छ। उनी पनि मखमली मालाको माग राम्रो भएको तर विगतका वर्षहरूमा जस्तो मूल्य नपाएको बताउँछिन्।
विगतका वर्षमा प्रतिमाला ३० देखि ३५ रुपैयाँसम्ममा बिक्री भएको तर यो वर्ष २३ रुपैयाँसम्म मात्रै प्रतिमालाको मूल्य पाएको बस्नेतले बताइन्। उनले गत वर्ष १ लाख रुपैयाँको माला बिक्री गरेकी थिइन्। तर यो वर्ष ६० हजारमा सीमित हुने बस्नेतको अनुमान छ।
‘विगतका वर्षहरूमा जस्तो मूल्य नपाउँदा ४० प्रतिशत आम्दानी कम हुने देखिएको छ,’ बस्नेत भन्छिन्। आफूहरूले उत्पादन गरेको मखमलीको माला किन्न व्यापारीहरू घरमै आउने गरेको उनी बताउँछिन्। बस्नेतका अनुसार उनले उत्पादन गरेका मालाहरू बढीजसो विदेश निर्यात हुने गरेका छन्।