
काठमाडौं। आईसीसी पुरुष टी-२० विश्वकप एशिया क्वालिफायर अन्तर्गत दोस्रो मलेशिया विरुद्धको खेलमा पनि नेपाल ६ विकेटले विजयी भएको छ। मलेशियाले दिएको १६६ रनको लक्ष्य नेपालले दुई ओभर बाँकी छँदै चार विकेटको क्षतिमा पूरा गर्यो।
नेपालको जितमा ब्याटर कुशल मल्लले विस्फोटक पारी खेल्दै ३४ बलमा ६५ रन बनाए। यस्तै, ओपनर ब्याटरद्वय कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाए भने आशिफ शेखले २३ बलमा ३२ रन बनाए। कप्तान रोहित पौडेलले भने आठ बलमा दुई रन मात्र बनाए। सन्दीप जोराले १६ बलमा १८ रन बनाउँदा विवेक यादवले दुई बलमा दुई रन बनाए।
बलिङतर्फ मलेशियाका अमीर अजिमले तीन विकेट लिए भने पवनदीप सिंहले एक विकेट लिए। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेशियाका लागि सयद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए भने जुवैदी जुल्किफ्लीले २४ रन बनाएका थिए। अरू ब्याटरले उल्लेखनीय रन बनाउन सकेका थिएनन्।
बलिङतर्फ नेपालका लागि अविनाश बोहोराले चार विकेट लिएका थिए। सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले समान एक विकेट लिएका थिए।यसअघि नेपालले प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा सिंगापुरलाई आठ विकेटले पराजित गरेको थियो। मलेशिया भने पहिलो खेलमा ओमानसँग ३२ रनले पराजित भएको थियो।