Logo

उद्योग धन्दा धाराशायी हुँदा अर्थतन्त्र सङ्कटमा: अध्यक्ष नेपाल


Nagarik Abaj २३ आश्विन २०८०, मंगलवार ११:०३ मा प्रकाशित

लुम्बिनी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको उद्योग धन्दा धाराशायी हुँदा देशको अर्थतन्त्र सङ्कटमा परेको बताउनुभएको छ । पार्टीका मेची(महाकाली समाजवादी जागरण अभियान अन्तर्गत बुटवलका उद्योगी व्यवसायीसँगको अन्तरक्रियामा नेपालले मुलुकको अर्थतन्त्र सुधारका लागि कृषि, वन र खनिजमा आधारित उद्योगको प्रवर्द्धन गर्नुपर्ने बताउनुभएको हो।

अध्यक्ष नेपालले नीतिगत तहमै दलाल, विचौलिया र भ्रष्टहरुको भूमिकाले अर्थतन्त्र कमजोर बन्दै गएको दाबी गर्नुभयो। उहाँले उच्च तहको मिलेमतोकै कारण मुलुकमा भ्रष्टाचार बढेको र त्यसले स्वदेशको उद्योग धन्दा धाराशायी बनाएको टिप्पणी गर्नुभयो ।

उहाँले व्यवसायीमाथि अहिले वित्तीय शोषणसमेत भइरहेको बताउँदै कर तथा भन्सारसम्बन्धी नीति परिमार्जन र स्वदेशी उद्योगको विकास गरी रोजगारी सिर्जनाका लागि आफ्नो पार्टीका तर्फबाट पहलकदमी गर्ने बताउनुभयो । अध्यक्ष नेपालले बैंकहरुले पनि उद्योग तथा कृषिमा लगानी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक सङ्कट, युवाशक्ति विदेश पलायन र समाजमा देखा परेका तमाम नागरिकका जनसारोकारको मुद्दालाई लिएर मेचीमहाकाली समाजवादी जागरण अभियान सुरु गरिएको बताउनुभयो ।


ताजा समाचार