
काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा लगाएको कर्फ्यू बिहिबार बिहानदेखि आंशिक रूपमा हटाएको छ । प्रशासन कार्यालयले बिहान ८ बजेदेखि राति ८ बजेसम्मलाई कर्फ्यू हटाइएको जनाएको हो ।
राति ८ बजेदेखि बिहान ६ बजेसम्म भने कर्फ्यू जारी नै रहने जनाइएको छ । बिहान ८ बजेदेखि राति ८ बजेसम्म उपमहानगरपालिका क्षेत्रभित्र कुनै प्रकारको भेला, जुलुस, सभा, बैठक, प्रदर्शन गर्न नपाइने प्रशासन जनाएको छ । हुलदङ्गा वा अशान्ति गर्ने उद्देश्यले एकै ठाउँमा पाँच जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने गरी निषेधाज्ञा जारी गरिएको पनि प्रशासनले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी वीपीन आचार्यले जिल्लामा समग्र शान्ति सुव्यवस्था कायम गर्न, सार्वजनिक सम्पत्तिको संरक्षण, सामाजिक सद्भाव कायम गर्न तथा मानव अधिकारको सम्मान गर्न आग्रह समेत गर्नुभएको छ ।