
काठमाडौं । पाँच वर्षदेखि आठ सयदेखि एक हजारभित्रको सूचीमा पर्दै आएको त्रिवि पछिल्लो सर्वेक्षणमा भने १२ सयदेखि १५ सयको सूचीमा खस्किएको हो । टाइम्स हायर एजुकेसनले सन् २०२४ का लागि गरेको सर्वेक्षण प्रतिवेदनले विगतमा भन्दा त्रिविको वरीयता कमजोर बनेको देखाएको हो ।
टाइम्सले गत साता उक्त प्रतिवेदन सार्वजनिक गरेको थियो । सन् २०१९ देखि त्रिवि उक्त सर्वेक्षणमा सहभागी हुँदै आएको छ । सोही बेलादेखिकै मूल्यांकनमा त्रिवि विश्वका उत्कृष्ट एक हजार विश्वविद्यालयमा परेको थियो । यसपालि भने उत्कृष्ट एक हजारभन्दा पछाडि धकेलिएको हो । विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, जग्गाजमिनलगायत भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान, साइटेसन, विदेशी विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छविलगायत विषयमा मापदण्ड तोकेर सर्वेक्षण हुँदै आएको छ । त्रिविका पदाधिकारीले ५ सयभित्र पर्ने लक्ष्य र योजना लिएको घोषणा गर्दै आए पनि नतिजा भने त्यसविपरीत खस्केको पाइएको हो ।
टाइम्सले घोषणा गरेअनुसार बेलायतको युनिभर्सिटी अफ अक्सफोर्ड सर्वोत्कृष्ट बनेको छ । सन् २०२३ मा पनि अक्सफोर्ड नै पहिलो ठहरिएको थियो । गत वर्ष तेस्रो बनेको अमेरिकाको स्ट्यानफोर्ड भने यसपालि उत्कृष्ट दोस्रोमा दरिएको छ । २०२३ मा दोस्रो बनेको अमेरिकाको हार्वर्ड यसपालि चौथो श्रेणीमा परेको छ । अघिल्लो वर्षको पाँचौं म्यासचुएट्स इन्स्टिच्युट अफ टेक्नोलोजी अमेरिका तेस्रो बनेको छ । गत वर्षको तेस्रो युनिभर्सिटी अफ क्याब्रिज पाँचौंमा पुगेको छ ।
छैटौंमा र सातौंमा अमेरिकाका प्रिन्सटन र क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजी रहेका छन् । आठौंमा इम्पेरियल कलेज अफ लन्डन, नवौंमा युनिभर्सिटी अफ क्यालिफोर्निया ब्रेकली र दसौंमा एलली युनिभर्सिटी अमेरिका रहेको टाइम्सको प्रतिवेदनमा उल्लेख छ । गत वर्ष पनि यिनै विश्वविद्यालय उत्कृष्ट १० भित्र नै परेका थिए । यसपालि यिनको १० औं भित्रको वरीयता मात्र तलमाथि परेको हो ।