
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहान जानकी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । नेपाली सेनाको विशेष विमानबाट सोमबार बिहान साढे ८ बजे जनकपुरधाम आइपुग्नु भएको राष्ट्रपति पौडेल जानकी मन्दिरमा विशेष पूजापाठ गर्नुभएको छ ।
जानकी मन्दिरका महन्त रामतपेश्वर दाससहितका मधेश प्रदेश सरकारले राष्ट्रपति पौडेललाई विशेष स्वागत गरेको छ । करिब आधा घन्टासम्म जानकी मन्दिरमा पूजाअर्चना गरेर राष्ट्रपति पौडेल अहिले मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले आयोजना गरेको विशेष चियापान कार्यक्रममा सहभागी हुनुभएको छ।
दिउँसो १ बजे राष्ट्रपति पौडेलले नेपाल सरकारको १२ करोडको लगानीमा जनकपुरधाममा निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । भवनमा जनकपुरधाम उपमहानगरपालिकाले राष्ट्रपति पौडेललाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । नागरिक अभिनन्दन कार्यक्रमपश्चात् जनकपुरधामस्थित नेपाल राष्ट्र बैंकले आयोजना गर्ने दिवा खाजा कार्यक्रममा सरिकपश्चात् आजै ३ बजे उहाँ काठमाडौं फर्केने कार्यक्रम रहेको जनकपुरधामका मेयर मनोजकुमार साहले बताउनु भयो ।