
काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृसंगठन अखिल क्रान्तिकारीको करिब एक वर्षदेखिको विवाद मिलेको छ। पञ्चा सिंह र पवन कार्की समूहबीचको विवादलाई सोमबार बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिा मिलाइएको हो।
प्रचण्डको उपस्थितिमाा सोमबार भएको छलफलबाट पुरानो कमिटी भंग गरि नयाँ सम्मेलन आयोजक समिति बनाउने सैद्धान्तिक सहमति जुटाएको छ। उक्त छलफलपछि विद्यार्थी फाँटका इन्चार्ज हिमाल शर्माले सबैको सकरात्मक प्रयासले अखिल क्रान्तिकारी एक भएको बताए।
अखिल क्रान्तिकारीमा अहिलेसम्म पञ्चा सिंह र पवन कार्की नेतृत्वको समानान्तर दुई समूह क्रियाशील थिए। दुवैले नेतृत्व गरेको टिमलाई समेटेर ९९ सदस्यीय भेला २३औँ राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने सहमति भएको नेता पवन कार्कीले नेपालखबरलाई बताए।
‘संगठनभित्रको विवाद समाधान भइसकेको छैन, समाधानउन्मुख छ। पार्टीको निर्णय आउनुपर्छ, त्यसलाई कार्यान्वयन गरेर जाने वातावरण बने समस्या समाधान हुन्छ,’ उनले भने। अखिल क्रान्तिकारीका उपाध्यक्ष केशव रावलले आयोजक समिति करिब २ सयजनाको बन्ने बताए।
सहमतिअनुसार यसअघिको २२ औँ राष्ट्रिय सम्मेलनका आयोजक समिति सदस्यहरु सबै अब केन्द्रीय सचिव हुनेछन्।
तत्कालीन २१ औँ राष्ट्रिय सम्मेलनपछिका प्रदेश सह-संयोजकहरु (हालका केन्द्रीय सचिव, केन्द्रीय आयोगका प्रमुख र उपप्रमुख, प्रदेश अध्यक्षहरु) उपमहासचिव हुने भएका छन्।
संगठनको केन्द्रीय पदाधिकारीमै २०० जना हुनेछन्। आयोजक समितिमा रहने सबै नयाँ राष्ट्रिय सम्मेलनमा आ–आफ्नो कार्यक्षेत्र वा जिल्लाबाट प्रतिनिधि चुनिएर आउनु पर्ने भएको छ।
अहिले सिंह नेतृत्वको क्रान्तिकारीमा ४९ जना पदाधिकारी छन्। त्यसमा पवन कार्की नेतृत्वको समूहको थपेर ९९ सदस्यीय बनाउने तयारी छ। नयाँ सम्मेलन आयोजक समितिको पदाधिकारी बनाउँदा यसअघि रञ्जित तामाङ अध्यक्ष हुँदा बहाल रहेको आयोजक समितिलाई आधार मान्ने सैद्धान्तिक सहमति भएको छ।