Logo

आजदेखि तीने दिन बीपी साहित्य महोत्सव


Nagarik Abaj २४ भाद्र २०८०, आईतवार ११:२१ मा प्रकाशित

काठमाडौं । आइतबार ११० औं बीपी जयन्ती । नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिनुभएका प्रथम जननिर्वाचित प्रधानमन्त्री जननायक बिश्वेश्वरप्रसाद कोइराला (बीपी) ११० औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपाली कांग्रेसले यसपटक बीपी जन्मजयन्तीमा साहित्य महोत्सव आयोजना गर्दैछ । पार्टी मुख्यालय सानेपामा आइतबारदेखि तिन दिनसम्म बीपी साहित्य महोत्सव आयोजना हुँदैछ । नेपालको राजनीतिक व्यवस्था परिवर्तनमा मात्रै नभएर साहित्य जगतमा विश्वेश्वर प्रसाद कोइरालाको योगदान स्मरण गराउन यो महोत्सव आयोजना गरिएको महोत्सव आयोजना मुल समारोह समितिका संयोजक एवं कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले जनाकारी दिनुभयो ।

नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर संघर्ष गर्नुभएका बीपीको विक्रम संवत १९७१ साल भदौ २४ गते जन्म भएको थियो । जहानियाँ राणा शासनको विरोधमा उहाँका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले पहिरेको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पार्सल गरी पठाएपछि कोइराला परिवार भारत निर्वासनमा जानुपरेको थियो ।

भारत निर्वासनकै क्रममा विसं २००३ मा बीपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । २००७ सालको क्रान्ति सफल भएपछि मोहन शम्शेरको नेतृत्वमा बनेको राणा–कांग्रेस सरकारमा बिपी गृहमन्त्री बन्नुभएको थियो ।

विसं २०१५ को आमनिर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि प्रथम जननिर्वाचित प्रधानमन्त्री बन्नु भएका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्नुभयो ।

प्रधानमन्त्रित्व कालमा उहाँले बिर्ता उन्मूलन गरी ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम लागु गराउनु भएको थियो । विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरिएपछि प्रधानमन्त्री कोइराला, संसदका प्रथम सभामुखक कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायत मन्त्रीलाई बन्दी बनाइएको थियो ।


ताजा समाचार