
काठमाडौं । सत्ता गठबन्धनको ठूलो दल नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थी संघले प्रधानमन्त्री निवास, बालुवाटार घेराउ गर्ने भएको छ ।
नेविसंघले इन्जिनियरिङ शिक्षाको शुल्क वृद्धिको विरोधमा आइतबार बिहान प्रधानमन्त्री निवास घेर्न लागेको हो । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरिएको शुल्कवृद्धिको विरोधमा आइतबार विहान १० बजे प्रधानमन्त्री निवास घेराउ कार्यक्रम राखिएको जानकारी गराउनु भएको छ । अध्यक्ष शेर्पाद्वारा शनिबार जारी विज्ञिप्तिमा सर्वसुुलभ र गणस्तरीय शिक्षा नागरिकको अधिकार र राज्यको दायित्व हो भन्दै शुल्कवृतिले गरिब तथा जेहेन्दार विद्यार्थी इन्जिनियरिङ अध्ययनबाट वञ्चित हुने अवस्था आएको उल्लेख गरिएको छ ।
शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गर्दै नेविसंघका नेता सुलभ चापागाईं ५ दिनदेखि आमरण अनशनमा छन् । नेविसंघले चापागाईंको जीवन रक्षाको पनि माग गरेको छ । नेविसंघले सबै विश्वविद्यालयमा इन्जिनियरिङ शिक्षाको एकै मापदण्ड तय गरी एकरुपता ल्याउनुपर्ने र इन्जिनियरिङ अध्ययन संस्थानले हालै गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने माग गरेको छ ।
त्रिभुवन विश्वविद्यालय र इन्जिनियरिङ अध्ययन संस्थानलाई सेन्टर अफ एक्सिलेन्सको रुपमा स्थापित गरी अनुदान बढाउनुपर्ने, सबै विश्वविद्यालयमा इन्टर्नसिप, रोजगारी सुनिश्चितता र रिसर्चको व्यवस्था गर्नुपर्ने नेविसंघको माग गरेको छ । नेविसंघले विद्यार्थीको विदेश पलायनलाई राष्ट्रिय संकट घोषणा गर्नुपर्ने माग समेत गरेको छ ।