
पोखरा। मुस्ताङको घरपझोङ गाउँपालिका अध्यक्ष जुवाको खालबाट पक्राउ परेका छन् । गाउँपालिका अध्यक्ष मोहनसिंह लालचन पोखरामा जुवा खेलिरहेको अवस्थामा बिहीबार साँझ पक्राउ परेका हुन् ।
गाउँपालिका अध्यक्ष लालचनसहित ७ जनालाई प्रहरीले पोखरा महानगरपालिका- ८ सिर्जनाचोकस्थित होटल लक्ष्मीबाट जुवा खेलिरहेको अवस्थामा पक्राउ गरेको हो । जुवाखालबाट पक्राउ परेका उनीहरूको साथबाट ४ लाख ४७ हजार ८० रूपैयाँ बरामद गरिएको बैदामका डिएसपी वेदप्रकाश जोशीले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार अध्यक्ष लालचनले पहिला नाम ढाँटेर मोहन थकाली भनेका थिए । अनुसन्धानको क्रममा पछि उनको नाम मोहनसिंह लालचनर गाउँपालिका अध्यक्ष भन्ने खेलेको हो ।
अध्यक्ष लालचनसहित पक्राउ पर्नेहरू मुस्ताङ घोरपझोङका ५७ वर्षीयका इन्द्रबहादुर कार्की, नविप्रसाद थकाली, सिर्जनाचोकका शंकर ज्वारचन, पोखरा महेन्द्रपुलका गुन्ज हिराचन, रामबजारका राजु गुरुङ र रामबजारकै दलबहादुर हिराचन छन् । उनीहरुलाई आज म्याद थप गरी अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।