
काठमाडौं । नेपालमा ६० वर्षदेखिको बजेटको बेरुजु फर्छ्यौट हुन बाँकी रहेको खुलासा भएको छ । कार्यवाहक महालेखा परीक्षक महेश्वर काफ्लेले २०२० सालबाट नेपालमा लेखा परीक्षण प्रतिवेदन तयार पार्ने काम शुरु गरेको उल्लेख गर्दै त्यही बेलादेखिको बेरुजु फर्छ्यौट बाँकी रहेको बताउनुभयो । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आन्तरिक लेखा परीक्षणमा नै सबै बेरुजु nफर्छ्यौट हुनुपर्नेमा वर्षौंदेखि त्यो काम नहुनु मुलुकको निम्ति भयावह अवस्था भएको पनि स्मरण गराउनुभयो ।
महालेखा परीक्षकको कार्यालयले हाल ९ खर्ब बेरुजु देखाएको उल्लेख गर्दै उहाँले त्यो वर्षाैंदेखिको रहेको समेत बताउनुभयो । कार्यवहाक महालेखा परीक्षक काफ्लेले जिम्मेवार निकायको गैरजिम्मेवारपूर्ण गतिविधिका कारण मुलुकमा बेरुजुको अवस्था भयावह बन्दै गएको पनि उल्लेख गर्नुभयो ।
कार्यवहाक महालेखा परीक्षक काफ्लेले महालेखा परीक्षकको कार्यालयमा अडिट गर्ने जनशक्तिको अभाव रहेको बताउनुभयो । देशभरका कार्यालयको अडिट गर्नका लागि करिब ४ सयजति मात्रै जनशक्ति रहेकाले आफूहरुले रिस्क बेसिस अडिटको काम मात्रै गर्नुपर्ने अवस्था रहेको उहाँको भनाई छ ।