
काठमाडौं। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संघीय संसद्मा जारी अवरोध खुलाएर सदन सञ्चालन गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरे सहित ३ दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।
बैठकमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी छन्। बैठकमा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तथा नेकपा एमालेका सचेतक समेत सहभागी छन्।
तस्करीको १ क्विन्टल सुन बरामद भएपछि छानबिनका लागि उच्चस्तरीय समिति गठन गरिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय संसद्का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)का बैठकमा अवरोध पुर्याउँदै आएको छ। एमालेको अवरोधका कारण सोमबार बसेको राष्ट्रिय सभा बैठक स्थगित भएको थियो।
प्रतिनिधि सभाको बैठक भने साउन १० गतेयता बस्न नै सकेको छैन। प्रतिनिधि सभाको साउन १० गतेको बैठकमा एमालेले समिति गठनको माग गर्दै अवरोध गरेको थियो। एमालेको अवरोधपछि साउन १५ गतेसम्मलाई स्थगित भएको बैठक त्यसपछि भने बस्दै नबसी स्थगित हुँदै आएको छ।
सोमबार बस्ने भनिएको प्रतिनिधि सभा बैठक बस्दै नबसी सूचना टाँस गरेर आज (मंगलबार) सम्मलाई स्थगित गरिएको थियो। प्रतिनिधि सभाको बैठक मंगलबार दिउँसो ३ बजे बस्ने गरी समय निर्धारण भएको छ।
प्रतिनिधि सभाको अवरोध हटाउने विषयमा सोमबार सभामुख घिमिरेसहित प्रमुख ३ दलका शीर्ष नेताहरुको बैठक सिंहदरबार र संघीय संसद् भवन बानेश्वरमा बसेको थियो। तर बैठकमा सदन सञ्चालनबारे कुनै सहमति जुट्न सकेन।