
काठमाडौं । दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन् । गौरीशंकर गाउँपालिका(७ मार्बु गाउँमा बिहीबार साँझ खसेको पहिरोले ५ घर पुरेको हो।
पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र तीन वर्षीय बालक प्रिन्स थामी बेपत्ता भएका छन् । सुरक्षाकर्मी र स्थानीयबासीले पहिरोमा पुरिएकाहरुको खोजी गरिरहेको गौरीशंकर गाउँपालिका ७ वडाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो ।
पहिरोमा पुरिएका तीन जनाको उद्धार गरिएको छ। घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ । पहिरोबाट अन्य १६ वटा घर जोखिममा छन् । सल्लेको पहिरोले केही तल रहेको टोपाटार गाउँमा पनि तीन घर पुरिएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।
उहाँका अनुसार हिजो दिनभर मुसलधारे पानी परेकोले उद्धार गर्न कठिनाइ भएको थियो । दुर्गम भएकाले उद्धार गर्न असहज भएको र अहिले केही प्रहरी पुगेपछि उद्धार शुरु गरिएको छ ।