
काठमाडौं । भारतीय विदेशमन्त्री डा.एस जयशंकर नेपाल–भारत मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आउनु हुने भएको छ । आयोगको यो सातौँ बैठक हो । परराष्ट्रमन्त्री स्तरीय यो संयन्त्रलाई नेपाल–भारत सम्बन्धका सम्पूर्ण आयामलाई मूल्याङ्कन गर्ने म्यान्डेट दिइएको छ ।
भारतीय सञ्चार माध्यमका अनुसार जयशंकर आगामी अक्टोबर महिनामा नेपाल आउनु हुनेछ । यद्यपि उहाँको नेपाल भ्रमणबारे औपचारिक घोषणा भने गरिएको छैन । बैठकमा दुई देशबीच कनेक्टिभिटी, अर्थ–वाणिज्य, ऊर्जा सहकार्य र जलस्रोत लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। केही समय अघिमात्र बैंककमा आयोजित बिम्स्टेक रिट्रिटमा परराष्ट्रमन्त्री एनपी साउदले भारतीय समकक्षीसँग साइडलाइन वार्ता गर्नुभएको थियो । आयोगको छैटौँ बैठक २०७७ सालको माघमा नयाँ दिल्लीमा आयोजना भएको थियो ।