
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि शुरु हुँदैछ । बैठक नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेबाट शुरु हुने भएकाे हाे ।
पाँच दिनसम्म जारी हुने बैठकमा पेश हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेश हुने राजनीतिक,सांगठानिक प्रतिवेदन पारित गरेपछि ११ बजेदेखी शुरु हुने भनिएको केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।
मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारवाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट सय जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।