
विराटनगर । कोशीमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको पाँच दिनको समय आज सकिँदैछ । प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि गत शुक्रबार दलहरूलाई आजसम्मको अन्तिम दिनुभएको थियो।
प्रदेश प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी गर्न आज अपराह्न ५ बजेसम्मको समय दिनुभएको थियो । यसअघि मुख्यमन्त्री बन्नुभएका कांग्रेसका उद्धव थापाको नियुक्ति बदर गर्दै सर्वोच्च अदालतले साउन १७ भित्रमा संविधानको धारा १६८ को उपधारा २ अनुसार सरकार बनाउन आह्वान गर्न गत बिहीबार आदेश दिएको थियो ।
सत्तारुढ गठबन्धनले बहुमत पुर्याएर मुख्यमन्त्रीका लागि दाबी गर्ने तयारी गरेको छ। नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले ४७ मत जुटाएर मुख्यमन्त्रीका लागी दाबी गर्ने तयारी गर्नुभएको पार्टी स्रोतले जनाएको छ।
शनिबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा दलहरू सभामुख बाबुराम गौतमलाई राजीनामा गराएर बहुमत पुर्याउन सहमत हुनुभएको थियो । कोशीमा सत्तारुढ गठबन्धनमा कांग्रेसका २९, माओवादी केन्द्र (सभामुखसहित) का १३, एकीकृत समाजवादीका चार र जसपाका एक गरी ४७ ंसासद छन् ।
प्रमुख प्रतिपक्षीतर्फको नेतृत्वमा भने एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् ।