Logo

दूधकाे माग घट्दै


Nagarik Abaj १६ श्रावण २०८०, मंगलवार ०९:५३ मा प्रकाशित

चितवन । जिल्लामा दूधको माग घट्दै गएको छ । उत्पादनअनुसार दूधको बिक्री नभएपछि यहाँका दुग्ध उत्पादक किसान तथा सहकारी चिन्तित बनेका छन् । पछिल्लो समय गाईभैँसीमा देखिएको लम्पी स्किन रोग लागेका पशुको दूध खान हुँदैन भन्ने हल्लाका कारण बजारमा दूधको माग घटेको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार अहिले व्यवसायीले उत्पादन गरेको दूधसमेत बजारमा बिक्री हुन कठिन भएको छ । उहाँले भन्नुभयो, “पहिला पहिला दूध किन्नका लागि लाग्ने लाइन अहिले घटेको छ ।” डेरी र सहकारीमा पठाइएको दूधसमेत बिक्री हुन कठिन हुने गरेको उहाँले बताउनुभयो ।

“दूध किनेर खाने उपभोक्तालाई बजार हल्लाले छोएको छ, उनीहरू दूध किनेर खान शङ्का मानिरहेका छन्”, उहाँले भन्नुभयो, “लम्पी स्किका कारण नभई बजार हल्लाका कारण दूधको खपत घटेको हो ।”

दूधको खपत घटेपछि यसको प्रत्यक्ष मार किसानलाई परेको छ । दूधको मूल्यमा गिरावट ल्याउन खोज्नु, दुग्ध उद्योगले समयमा दूध नउठाउनु जस्ता प्रभाव विस्तारै पर्न थालेको बगालेले बताउनुभयो । अहिले जिल्लामा दैनिक तीन लाख ५० हजार लिटर दूध उत्पादन हुँदै आएको छ । बजारमा माग घट्दा व्यवसायी तथा दुग्ध उत्पादक किसान मारमा परेको बगालेले बताउनुभयो ।

भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र भरतपुरका पशु विकास अधिकृत डा रामचन्द्र आचार्यका अनुसार पछिल्लो समय पशुहरूमा देखिएको लम्पी स्किन रोगका कारण दूध उत्पादन र उपभोगमा समेत प्रभाव परेको छ । सङ्क्रमित पशुबाट केही दिन केही मात्रामा उत्पादनमा कमी आउने गर्दछ । जिल्लामा लम्पी स्किन देखिए पनि दुग्ध उत्पादनमा खासै समस्या नभएको उहाँको भनाइ छ ।


ताजा समाचार