
काठमाडौं । प्रतिनिधिसभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ । एमालले संघीय संसद अवरुद्ध पार्ने तयारी गरेपछि प्रतिनिधिसभा बैठक स्थगित गरिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएर बरामद भएको एक क्वीन्टल सुन प्रकरण छानविन गर्न उच्च स्तरीय समिति गठन हुनुपर्ने माग गर्दै आएको छ । तर सत्तापक्ष यसमा तयार भएको छैन । एमालेले सुन प्रकरण छानविन गर्न उच्च स्तरीय समिति नबनाएसम्म संसद चल्न नदिने अडान लिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार प्रधानमन्त्रीसँगको भेटवार्तामा सुन तस्करी छानविनको लागि उच्च स्तरीय समिति बनाउन प्रस्ताव गर्नुभएको थियो । तर प्रधानमन्त्री पुष्पकमल दाहालले अध्यक्ष ओलीको प्रस्तावलाई बेवास्ता गरेपछि त्यो माग पूरा गर्न एमालेले फेरि संसद अवरुद्ध पार्ने योजना बनाएको हो ।
एमालेले यसअघि १० साउनमा बोलाइएको प्रतिनिधिसभा बैठक पनि उच्चस्तरीय छानविन समितिको माग गर्दै अवरुद्ध गरेको थियो । एमालेले त्यही अडान राखेपछि सरकारको आग्रहमा सभामुख देवराज घिमिरेले सोमबारको प्रतिनिधिसभा बैठक स्थगित गर्न लगाउनुभएको हो । प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको सभामुखको सचिवालयले जनाएको छ ।