
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको भ्रष्टाचार विरोधी अहिलेको अभियानमा साथ दिन सबैलाई आह्वान गर्नुभएको छ ।
भ्रष्टाचारी र कमिसनखोरलाई कानुनी दायरामा ल्याउने र निहित स्वार्थ अनुकुल काम गर्ने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।
शनिबार राष्ट्रिय शहीद तथा शान्ति पार्क जगडोलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारीलाई कारबाही गर्दै सुशासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
शहीद तथा बेपत्ता योद्धाले ऐतिहासिक राजनीतिक परिवर्तनका लागि मात्र नभएर जनताको जीवनस्तर फेर्नका लागि समेत आफूलाई उत्सर्ग गरेको भन्दै मन्त्री श्रेष्ठले त्यस दिशामा अगाडि बढ्न भ्रष्टाचार र कमिसनतन्त्रलाई निमिट्यान्न पार्नुपर्नेमा जोड दिनुभयो ।