Logo

४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको उद्घाटन


Nagarik Abaj १० श्रावण २०८०, बुधबार ११:५१ मा प्रकाशित

बैतडी । बैतडी र दार्चुलाको सीमा भएर बग्ने चेमेलिया नदीमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको सफल परीक्षणपछि सोमबार उद्घाटन गरिएको छ ।

दार्चुलाको मार्मा गाउँपालिका–१ किमबगडमा बाँध बाँधेर ६ किलोमिटर तल मार्मा गाउँपालिका –२ घट्टीगाडमा रहेको ४० मेगावाटको जलविद्युत आयोजनाको सोमबार मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरण जोशी र अपि पावर कम्पनीका अध्यक्ष गुरुप्रसाद न्यौपानेले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।

४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत निजी क्षेत्रको लगानीमा निर्माण भएको सुदूरपश्चिमकै पहिलो ठुलो आयोजना हो । २०७७ माघ महिनादेखि निर्माण सुरु भएको आयोजना लक्षभन्दा छ महिना अघि नै निर्माण सम्पन्न भएको अपि पावर कम्पनीका सञ्चालक सञ्जीव न्यौपानेले बताउनुभयो ।

विद्युत उत्पादन गर्न ८ अर्ब रुपियाँ खर्च भएको अपि पावर कम्पनीका सञ्चालक सञ्जीव न्यौपानेले बताउनुभयो । आयोजनाको ६ हजार एक सय मिटर लामो पेन्सटक पाइपलाइन, तीन वटै टर्वाइन, जेनेरेटर र अन्य उपकरणको परीक्षण सफल भएपछि उद्घाटन गरेर नियमित विद्युत उत्पादन थालिएको न्यौपानेले बताउनुभयो ।

तीन वर्षे ठेक्का सम्झौता भए पनि तोकिएको समयभन्दा छ महिना अघि नै काम सकिएको पावर हाउस निर्माणको जिम्मा पाएको सिएभी ग्वाल्लेक निर्माण सेवा जेभीका सुरेश चन्दले बताउनुभयो ।

आयोजनाको शुक्रबारदेखि परीक्षण सुरु गरेर सोमबार उद्घाटन भएपछि बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको १३२ केभी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको अपि पावर कम्पनीका अध्यक्ष न्यौपानेले बताउनुभयो ।

माथिल्लो चमेलिया जलविद्युत आयोजनाले दार्चुलालाई वार्षिक पाँच करोड रुपियाँ रोयल्टी बुझाउने भएकाले दार्चुला र समग्र मार्मा गाउँपालिकाको विकासमा टेवा पुग्ने गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताउनुभयो ।

अध्यक्ष धामीले निजीक्षेत्रको कम्पनीले दार्चुलाको मार्माजस्तो दुर्गम ठाउँमा आएर ४० मेगावाट विद्युत उत्पादन गर्दा मार्माको कायापलट हुने विश्वास व्यक्त गर्नुभयो । उद्घाटन कार्यक्रममा राजनीतिक दलकातर्फबाट माओवादी केन्द्रका नेता नरबहादुर विष्टले माथिल्लो चमेलिया जलविद्युतले मार्मा गाउँपालिकामा बिजुली पुग्ने आशा जागेको बताउनुभयो ।


ताजा समाचार