Logo

आज साउनको पहिलो सोमबार: शिवालयमा भक्तजनको भीडभाड


Nagarik Abaj १ श्रावण २०८०, सोमबार १२:०५ मा प्रकाशित

काठमाडाैं । हरेक वर्षझैँ यो वर्ष पनि पशुपतिनाथ क्षेत्रमा साउन सोमबारको लागि रमझम शुरु भएको छ । सोमबारदेखि साउन महिना शुरु हुने भएको हुँदा पशुपतिनाथ क्षेत्रमा श्रद्धालुहरुको रमझम शुरु भएको हो ।

पशुपति विकाश कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले विशेष गरेर नारी वर्ग समृद्धि प्रतीक भएको हुँदा  साउन महिनाभरि हरियो चुरा र मेहन्दी लगाएर सोमबारको ब्रत बसी नारीहरुले भगवान शिवलाई खूशी पार्ने बताउनुभयो । जलाधार साउन महिना भगवान शिवको महिना भएको र त्यसमा पनि सोमबार शिवको प्रिय बार ठानिने हुँदा यो समयमा शिवलाई जलमात्र चढाउँदा पनि भगवान शिव खुशी हुने धार्मिक विश्वास रहेको उहाँले बताउनुभयो ।

निर्देशक खतिवडाले साउन महिनाभरि पशुपतिनाथको दर्शनका लागि देश तथा विदेशबाट श्रद्धालु भक्तजनहरुको घुँईचो हुने गरेका कारण भक्तजनहरुको सुविधाका लागि मन्दिरको चारै ढोका खोलिने र श्रद्धालु भक्तजनहरुलाई उचित लाईनमा लगाई भगवान पशुपतिनाथको दर्शन गराउने व्यवस्था गरिएको बताउनुभएको छ । उहाँले मन्दिर परिसरमा शान्ति सुरक्षाका निमित्त सुरक्षाकर्मीहरुको विशेष व्यवस्था गरिएको र साउन महिना भरी श्रद्धालु भक्तजनहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै  मन्दिर परिसरभित्र नेपाली सेनाद्वारा स्वास्थ्य शिविर पनि संचालन गरिएकोे जानकारी गराउनुभयो।

पशुपति क्षेत्र परिसर भित्र अनावश्यक भिडभाड हुन नदिन  अनावश्यक बन्द व्यापार बन्द गरेको र ब्राह्मणहरुलाई पनि निश्चित कोर क्षेत्र बाहिरमात्र टिका प्रसाद वितरण गर्न लगाईने जनाइएको छ । भक्तजनहरुको सुविधाका लागि विभिन्न संघसंस्थाहरुबाट स्वयं सेवकको पनि व्यवस्था गरिएको तथा जेष्ठ नागरिक र शारीरिकरुपमा अशक्तहरुका लागि स्वयंसेवक परिचालन गराई पूजापाठका लागि विशेष व्यवस्था गरिएको पशुपति विकास कोषले जनाएको छ ।


ताजा समाचार