
काठमाडौं । आन्तरिक हवाई भाडा बढ्ने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०÷८१ बाट हवाई टिकटमा लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) को कारण आन्तरिक हवाई भाडा ६ प्रतिशतसम्म बढ्ने स्थिति बनेको हो । वायुसेवा कम्पनीहरुका अनुसार सोही अनुसार वायुसेवा सञ्चालक संघमा आवद्ध सबै कम्पनी भ्याटमा दर्ता भइ टिकटमा लाग्ने भ्याट कार्यान्वयन गर्ने तयारीमा जुटेका छन् ।
मूल्य अभिवृद्धि कर लाग्ने भएकाको हकमा घोषणा भएको ३० दिनभित्र भ्याटमा दर्ता भइसक्नु पर्छ । नेपालमा वस्तु तथा सेवामा १३ प्रतिशत भ्याट लाग्छ । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार हवाई टिकटमा भ्याट कार्यान्वयन गर्दा हवाई टिकट ६ प्रतिशत हाराहारी मात्र बढ्नेछ । नयाँ प्रावधान अनुसार भाडादरसहित जहाज, इन्जिन र पार्टपूर्जाको आयातमा १३ प्रतिशत भ्याट जोडिन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले हरेक यात्रुबाट विमानस्थल विकास शुल्कका नाममा ५ सय रुपैयाँ लिन्छ । वायुसेवा कम्पनीको हवाई भाडामा मात्र भ्याट जोडिंदा ६ प्रतिशतसम्म भाडा बढ्ने अनुमान गरिएको हो । यसअघि हवाई टिकटमा भ्याट लाग्दैनथ्यो । सोही कारण कम्पनीहरु भ्याटमा दर्ता समेत हुनु अनिवार्य थिएन । अब भने सबै कम्पनी भ्याटमा दर्ता भइ कारोबार गर्नुपर्ने भएको छ ।