Logo

प्रधानमन्त्री प्रचण्ड ३ दिन शोक बिदामा बस्ने


Nagarik Abaj २८ असार २०८०, बिहीबार २१:०८ मा प्रकाशित

काठमाडौं । पत्नी सीतालाई गुमाउनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल ३ दिनसम्म शोकमा बस्नु हुने भएको छ । सीताको निधनमा शोक बारे पनि प्रधानमन्त्रीसहित दाहाल परिवारले नुन भने छाडेका छैनन् । 

प्रधानमन्त्री दाहालका भाइ नारायणले हिन्दू संस्कारमा हुने १३ दिनको काजकिरिया नगरिने बताउनुभएको छ । ‘उहाँ भोलिसम्म ३ दिन शोकमा बस्नुहुन्छ, तर हिन्दू संस्कारको काजकिरिया गरिएको छैन’ उहाँले भन्नुभयो । सीताको निधन पश्चात बुधबार नै पशुपति आर्यघाटमा हिन्दू संस्कार अनुसार राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको थियो ।  

यसअघि छोरा प्रकाशको निधन हुँदा दाहाल परिवारले काजकिरिया  गरेका थिएनन्  ।  ‘जस्तो प्रकाशको बेलामा गरिएको थियो, अहिले पनि त्यही नै हुने हो’ नारायणले भन्नुभयो । 

दाहाल परिवारले धर्म नमान्ने भएकाले काजकिरिया नगरिएको उहाँको भनाई छ ।  सातौं दिनमा एउटा शोकसभा राख्ने तयारी गरिएको उहाँले जानकारी दिनुभएको छ ।  ‘निश्चित भइसकेको छैन, तर सातौं दिनमा शोकसभा राख्ने तयारी चाहिँ छ’ उहाँले भन्नुभयो । 

प्रधानमन्त्री असार ३० गतेदेखि नियमित काममा फर्किने उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ३ दिनसम्म निवासमै रहनुहुने प्रेस संयोजक सूर्यकिरणले जानकारी गराउनुभएको छ ।  ‘प्रधानमन्त्रीज्यू ३० गतेपछि पूर्ववत सक्रिय हुनुहुनेछ’उहाँले भन्नुभयो । 


ताजा समाचार