Logo

सरकारमा जाने तयारीमा एमाले छैन: केपी ओली


Nagarik Abaj २६ असार २०८०, मंगलवार १६:४१ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने कुनै मनसाय नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनाउने चर्चा भईरहँदा ओलीले आफ्नो पार्टीको अहिले सरकारमा जाने सोच नरहेको प्रष्टयाउनु भएको हो ।

मंगलबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा जारी पार्टीको बागमती प्रदेश संगठन कमिटीको सातौं बैठकमा बोल्दै उहाँले आफ्नो पार्टी सरकार बनाउने, जोखाउने कुनै पनि गन्तव्य नभएको खेलमा सहभागी नहुने बताउनुभयो ।

ओलीले आफ्नो पार्टी २०८४ सालको निर्वाचनमा एक्लै बहुमत ल्याउने मिशनमा लागेको दोहोर्‍याउनुभयो । उहाँले सरकार र सत्तारुढ दलहरुले झूट बोल्ने बाहेक केही पनि काम गर्न नसकेको आरोप समेत लगाउनुभयो ।

अध्यक्ष ओलीले संविधान र कानुन बमोजिम रद्द भईसकेको मिटरब्याजसम्बन्धि प्रतिस्थापन विधेयकलाई ल्याउने भनेर सरकारले झूट कुरा गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । उहाँले सो विधेयक समयमा संसदमा नल्याउने अनि आफूले नै सो समस्याको समाधान गर्ने भनेर गृहमन्त्री नारायणकाजी श्रेष्ठले जनतामाथि छल हुने गरी माइतीघर मण्डलामा अभिव्यक्ति दिएको समेत बताउनुभयो ।


ताजा समाचार