
काठमाडौं । ललिता निवास प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । राउतलाई आइतबार काठमाडौंबाट विराटनगर जाने क्रममा त्रिभुवन विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको हो ।
सीआईबीले प्रकरणमा आइतबार सचिव राउतसहित थप ३ जनालाई पक्राउ गरिएको जनाएको छ । समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र नापी अधिकृत ध्रुव अर्याल छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनीहरुलाई काठमाडौंबाट पक्राउ गरेको हो । योसँगै प्रकरणमा प्रकाउ पर्नेको संख्या १२ पुगेको छ ।
राउतविरूद्ध यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो। उनलाई आइतबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो। भौतिक पूर्वाधार मन्त्रालयमा शाखा अधिकृत हुँदा राउतले नक्कली मोहीलाई ललिता निवासको जग्गा दिने निर्णयको टिप्पणी उठाएका थिए। उनको त्यही भूमिकाबारे थप अनुसन्धान गर्न प्रहरीले उनलाई पक्राउ गरेको हो।
यसअघि गत मंगलबार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित ७ जना एकैपटक पक्राउ परेका थिए। गुरुङसहित धर्मप्रसाद गौतम, सुधीरकुमार शाह र गोपाल कार्कीलाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू अहिले पनि हिरासतमै छन्। सीआईबीले पक्राउ गरेका अन्य तीन जनालाई भने त्यही दिन छाडेको हाे।
उनीहरूलाई सर्वोच्चबाट पक्राउ नगर्न आदेश जारी भएको थियो। प्रकरणमा जोडिएका काठमाडौं महानगरका अधिवृकत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलाई पक्राउ गरेको थियो। त्यसपछि समर्जङ कम्पनीका तत्कालिन प्रमुख रमेश कुमार पोखरेल र देवनारायण महर्जनलाई प्रहरीले गत सोमबार पक्राउ गरेको हाे ।