
काठमाडौं । मिटरब्याज नियन्त्रणका लागि सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएपछि पीडितहरू आन्दोलनमा उत्रिएका छन् ।
देशका विभिन्न जिल्लाबाट आएका मिटरब्याज पीडितले आइतबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरू माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेका छन् । मिटरब्याज पीडितको समस्या समाधान गर्न सरकारले वैशाख २० गते मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश ल्याएको थियो। समयमै संसद्मा पेश नहुँदा निष्क्रिय भएको छ ।
यसलाई पारित गर्न र मिटरब्याजीलाई कारबाही गर्न माग गर्दै पीडितले प्रदर्शन गरेका हुन् । संविधान अनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानून निष्क्रिय भएसँगै मिटरब्याज पीडितहरुले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडित रेखा साहले प्रमुख तीन दल मिलेर मिटरब्याजविरुद्धको कानुन पारित हुन नदिएको आरोप लगाउनुभयो । उहाँले संसदबाट मिटरब्याजविरुद्धको कानुन पारित नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभएको छ ।
पीडितहरुले सरकारले माग सम्बोधन गर्न छानविन आयोग बनाएर पनि कारबाही गर्न बनेको कानुन निष्क्रिय भएसँगै मिटरब्याजीहरु चल्मलाएको जनाएका छन् । उनीहरुले मिटरब्याजीहरु घरघरमा गएर गाली बेइज्जती गर्न थालेको बताएका छन् ।