
काठमाडौं । समाजवादी मोर्चा, नेपालले सबै प्रदेशको राजधानीमा कार्यक्रम गर्ने भएको छ । शनिबार काठमाडौंको आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा बसेको मोर्चाको पहिलो बैठकले आफ्नो सन्देश दिने गरी सबै प्रदेशको राजधानी शहरमा केही दिन भित्रै औंपचारिक कार्यक्रम गर्ने निर्णय गरेको हो ।
मोर्चाको सन्देश देशभर पुर्याउने गरी सबै प्रदेशको राजधानी शहरहरुमा केही दिन भित्र औपचारिक कार्यक्रम गर्ने निर्णय गरिएको नेकपा (एकीकृत समाजवादी)का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले मोर्चाको आचारसंहिता, नीति, कार्यक्रम निर्माणका लागि ४ सदस्यीय कार्यदल पनि गठन गरेको छ । माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ, एकीकृत समाजवादीका उपाध्यक्ष प्रमेश हमाल, जनता समाजवादी पार्टी, नेपालका नेता राजेन्द्र श्रेष्ठ र नेकपाका प्रवक्ता खडगबहादुर विश्वकर्मा कार्यदलमा रहनु भएको पनि उपाध्यक्ष पाण्डेले बताउनु भयो ।
कार्यदलले तयार गरेको प्रतिवेदन आगामी असार २७ गते बस्ने मोर्चाको बैठकमा पेश हुने र पारित हुनेछ । उपाध्यक्ष पाण्डेका अनुसार मोर्चाको बैठकको अध्यक्षता ६/६ महिनामा परिवर्तन गर्ने सहमती पनि गरिएको छ । नेताहरुले मोर्चाको बैठक बस्न ढिलाई भएको स्विकार गर्दै त्यसलाई क्रियाशील बनाउनुपर्नेमा जोड दिएका थिए ।