Logo

६ लाख भन्दा बढी घरपरिवारलाई गरिब परिचयपत्र वितरण


Nagarik Abaj २० असार २०८०, बुधबार २०:४८ मा प्रकाशित

काठमाडौं । सरकारले  मुलुकको विभिन्न जिल्लामा ६ लाख भन्दा बढी घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४९ जिल्लामा ६ लाख १५ हजार एक सय ६१ घरपरिवारलाई गरिब पहिचान गरी परिचयपत्र वितरण गरेको हो । 

सरकारले उनीहरूको आय तथा व्ययको स्रोत, घरको अवस्था, जीवनशैली, शिक्षाको अवस्थालगायतको सूचकाङ्क अध्ययन गरी तीन वर्गमा छुट्याएर अतिगरिब, मध्यम गरिब र सामान्य गरिब परिचयपत्र वितरण गरिएको छ ।  वार्षिक प्रतिव्यक्ति २२ हजार ९ सय १९ रुपैयाँ खर्च गर्न नसक्नेलाई गरिब मानिएको छ । 

तीनै तहका सरकारले गरिब लक्षित कार्यक्रम सञ्चालन गर्दा उनीहरूलाई सेवा तथा सुविधा उपलब्ध गराउँदा परिचयपत्रका आधारमा प्रदान गर्ने गरिब पहिचान तथा मापदण्ड शाखाका प्रमुख झविन्द्र पाण्डेले जानकारी दिनुभयो । सङ्घीय, प्रादेशिक र स्थानीय तहका सरकारले आफ्नो क्षमताअनुसार उनीहरूलाई सहुलियत प्रदान गर्नेछन् । सरकारले उनीहरूलाई शिक्षामा छात्रवृत्ति, निःशुल्क स्वास्थ्य बिमाका साथै गरिबी न्यूनीकरणका परियोजनामा प्राथमिकता दिएको छ । 


ताजा समाचार