
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले यसपटक आफू प्रधानमन्त्री नबने देश दुर्घटनामा जाने सम्भावना देखेर कहिले एमालेसँग र कहिले कांग्रेससँग गठबन्धन गरेर प्रधानमन्त्री बनेकाे बताउनुभएकाे छ ।
गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवससरमा चाबहिलस्थित जीपी कोइराला मेमोरियल कलेजले आज आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले यस्ताे बताउनुभएकाे हाे ।
जनतामाथि र संघीय गणतन्त्रमाथि खतराको घण्टी बजेको देखेर आफूलाई प्रधानमन्त्री बन्न मन लागेको बताउँदै दाहालले भन्नुभयाे, ‘म नभइ हुँदैन जस्तो लाग्यो यसपटक । जसरी भए पनि प्रधानमन्त्री हुनुपर्यो भनेर म भएरै छाडेँ ।’
यस्तो गर्दा आफूलाई विचित्रको अनुभव भएको बताउँदै उहाँले भन्नुभयाे, ‘मेरो मनस्थिति के मात्र हो भने देशभित्रको विसंगतिविरुद्ध लड्नको लागि म चाहिन्छ भन्ने कुरामा दृढ थिएँ र छु ।’
देशमा सुशासन, समृद्धि र न्यायको पक्षमा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको प्रधानमन्त्री दाहालले बताउनुभयाे । अहिलेकाे राजनीति सामान्य रुपमा सुधार हुने सम्भावना नभएको प्रधानमन्त्री दाहालकाे भनाइ छ ।
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग विताएका क्षणको स्मरण गर्दै गिरिजा आफ्नो प्रेरणाको स्रोत भएको बताउनुभयाे ।