
काठमाडाैं । देशको सबै भूभागमा हाल मनसुनी प्रणालीको प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको महाशाखाकाे भनाइ छ ।
आइतबार दिउँसो कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ ।
राति कोशी, मधेश, बागमती, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानहरूमा मुसलधारे वर्षाको सम्भावना रहेको माैसमविद्ले जानकारी दिएका छन् ।
देशका अधिकांश स्थानमा मुसलधारे वर्षा हुने भएकाेले बाढीपहिरो, डुबान, भू-क्षय तथा गेग्रान बहावका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेकाे छ । खराब माैसमका कारण सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकाे महाशाखाले जारी गरेकाे सूचनामा उल्लेख छ ।