Logo

साफ च्याम्पियनसिपको १४ औं संस्करण आजदेखि भारतको बैङ्लुरुमा शुरु


Nagarik Abaj ६ असार २०८०, बुधबार १४:०८ मा प्रकाशित

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलको १४ औं संस्करण आजदेखि भारतको बैङ्लुरुमा शुरु हुँदैछ ।

भारतको बैङ्लुरुस्थित श्री कान्तिराभा रंगशालामा आज साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले कुवेतसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे शुरु हुनेछ । साफका ६ र २ आमन्त्रित राष्ट्र गरि ८ टोली सहभागी छन् । साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै खेल्दै आएको नेपालको अहिलेसम्मको सफलता भनेको एक पटक उपविजेता बन्नु मात्र हो ।

मध्यपूर्वी राष्ट्र कुवेत वरियताका आधारमा नेपालभन्दा बलियो टोली हो। फिफाको वरियतामा नेपाल १७४ औं स्थानमा छ भने कुवेत ३१ स्थान माथि १४३ औं स्थानमा छ । १० पटक अरेवियन गल्फ कप जितेको कुवेतले १ पटक विश्वकप र १० पटक एसियन कप समेत खेलिसकेको छ । नेपाल र कुवेतबीच अहिलेसम्म ९ खेल हुँदा नेपालले १ मात्र बराबरी गरेको छ भने बाँकी ८ खेल कुवेतले जितेको छ ।

२०१९ मा भएको मैत्रीपूर्ण खेलमा उसलाई गोलरहित बराबरीमा रोकेको नेपाल पछिल्लो पटक कुवेतसँग गत वर्ष एसिया कप छनोटको खेलमा भने ४–१ गोलले हारेको थियो । यी दुईबीच पहिलो पटक सन् १९८२ एसिया कप छनोटमा भेट भएको थियो । जहाँ नेपाल ३–१ गोलले हारेको थियो । त्यस समय वाईबी घलेले गोल गरेका थिए भने त्यसको ४० वर्षपछि गत वर्ष एसिया कप छनोटमै दर्शन गुरुङले कुवेतविरुद्ध गोल गरे । कुवेतविरुद्ध नेपालले अहिलेसम्म यही २ गोल मात्र गर्दा ३४ गोल खाएको छ ।


ताजा समाचार