Logo

प्रमको भारत भ्रमणमा डुबानसम्बन्धी समस्या समाधानको विषय प्राथमिकतामा नपरेको आपत्ति


Nagarik Abaj ५ असार २०८०, मंगलवार १७:४९ मा प्रकाशित

काठमाडाैं । सत्तारुढ दलका नेताहरुले नै प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा डुबानसम्बन्धी समस्या समाधानको विषय प्राथमिकतामा नपरेको भन्दै असन्तुष्टि जनाएका छन् ।

मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै सत्तारुढ नेपाली काँग्रेसका नेता विमलेन्द्र निधी र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीको भारत भ्रमणको क्रममा डुबान समस्याको विषयले प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका नेपालले भारतले ठूलो बाँध बाँधेका कारण नेपाली भूमिमा डुबानको धेरै समस्या भएको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रधानमन्त्रीको भारत भ्रमणमा गम्भीरताका साथ कुरा नभएको गुनासो गर्नुभयो । उहाँले डुबानबाट नेपालले ठूलो क्षति व्यहोर्नु परिरहेको उल्लेख गर्दै त्यसबारे नेपाल सरकारले भारतसँग गम्भीरतापूर्वक कुरा राख्नुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो ।

अध्यक्ष नेपालले भारतले सीमावर्ती जिल्लाहरुमा अग्लो बाँध बनाएकाकारण नेपालको भूमि डुबानमा पर्ने गरेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नेपाल सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै, बैठकमा बोल्दै काँग्रेस नेता निधीले डुबानको समस्या समाधानको विषयमा प्रधानमन्त्री दाहालको भारत भ्रमणमा प्राथमिकता नपाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सो समस्या समाधानका लागि दुवै मुलुकबीच भएको सन्धि, सम्झौता र अन्तराष्ट्रिय कानूनको ख्याल गर्नुपर्ने आवश्यक्ता समेत औंल्याउनुभयो । भारतले रोडको नाममा बाँध बनाउने र त्यसको मारमा नेपाल पर्नुपर्ने अवस्था आएको उल्लेख गर्दै नेता निधीले त्यसको अन्त्यका लागि सरकारले भारत सरकारसँग गम्भिरतापूर्वक छलफल अघि बढाउनुपर्ने बताउनुभयो ।


ताजा समाचार