
बझाङ । जीप दुर्घटनामा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्री पृथ्वीबहादुर सिंहकी श्रीमति र भाउजूको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मन्त्री सिंहसहित तीन जनालाई थप उपचारका लागि हेलिकप्टरबाट नेपालगन्ज लगिएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा श्रीमती अमृता सिंह र उहाँकी भाउजू जयादेवी सिंह रहेको घटनास्थलमा रहनुभएका सशस्त्र प्रहरीका डीएसपी नेत्र केसीकाे भनाइ छ ।
घाइते मन्त्री सिंह, उहाँका पीएसओ सहायक प्रहरी हवल्दार दीपक भण्डारी र गाडी चालक घर्मराज जोशीलाई उपचारका लागि नेपालगन्ज लगिएको डीएसपी केसीले बताउनुभयाे ।
सुदूरपश्चिम सरकारका मन्त्री सिंह चढेको गाडी सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी डडेलधुराबाट चैनपुर आउने क्रममा मंगलबार दिउँसो दुई बजेतिर केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।
दुर्घटनामा घाइते भएकालाई अर्को गाडीमा रहेका सुरक्षाकर्मीले उद्धार गरी केदारस्युँ गाउँपालिका–१, देउरास्थित ऋतु पोलिक्लिनिकमा पुर्याएका थिए ।