Logo

देशभर गिट्टी वालुवा उत्पादन कार्य वन्द गर्ने व्यवसायीको चेतावनी


Nagarik Abaj ३ असार २०८०, आईतवार २१:५४ मा प्रकाशित

काठमाडौं । निर्माण व्यवसायीले गिट्टी– वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले आफूहरुको समस्या र माग सुनुवाइ नभएको भन्दै  असारको दोसो सातादेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य बन्द गर्ने चेतावनी दिएको हो । 

महासंघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै  असार १६ गतेदेखि देशभर गिट्टी वालुवा उत्पादन कार्य वन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । महासंघले सरकारले कानुन बमोजिम दर्ता भई इजाजत लिई सञ्चालनमा रहेका क्रसर खानी तथा वालुवा उद्योग असार १५ गतेभित्र नविकरण गर्न निर्देशन माग गरेको छ । 

पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष सीताराम न्यौपानेले सरकारले विगत १० वर्षदेखि क्रसरका समस्या समाधानको लागि पहल गरे पनि अहिलेसम्म नभएको गुनासो गर्नुभएको छ ।  उहाँले अवैध क्रसर उद्योग बन्द गर्ने नाममा कानुन बमोजिम सञ्चालनमा आएका उद्योग समेत बन्द गरेको बताउनुभएको छ । 

उहाँले मन्त्री परिषद्ले गत माघ ११ गते दर्ता भई सञ्चालनमा रहेका तर मापदण्ड लगातका कारण नविकरण हुन नसकेका क्रसर उद्योगको हकमा कानून अनुसार लाग्ने कर,दस्तुर,शुल्क लगायत राजश्व लिई २०८० असार मसान्तसम्म यथावत रुपमा सञ्चालन गर्ने निर्णय कार्यान्वयन नभएको बताउनुभएको छ । 

महासंघले कच्चा पदार्थको रुपमा रहेका ढुङ्गा,गिट्टी,वालुवा, उत्खनन कार्य र तिनै कच्चा पदार्थहरु क्रसिङ प्रशोधन गर्नेगरी उद्योग सञ्चालन गर्ने कार्य छुट्टाछुट्टै उद्देश्य रहेको बताएको छ । महासंघले कच्चा पदार्थ उत्खनन कार्यलाई क्रसर उद्योग सञ्चालनसँगै जोडेर मूल्याङ्कन गर्न नमिल्ने भन्दै उत्खनन कार्य स्थानीय सरकारमार्फत क्रसर उद्योग सञ्चालन कार्य उद्योग मन्त्रालयमार्फत व्यवस्थापन गर्ने व्यवस्था गर्न माग गरेको छ । 


ताजा समाचार