Logo

कोशी प्रदेशले सावर्जनिक गर्यो अध्यादेशमार्फत बजेट


Nagarik Abaj ३२ जेष्ठ २०८०, बिहीबार २०:४६ मा प्रकाशित

विराटनगर । कोशी सरकारले अध्यादेशमार्फत आर्थिक वर्ष  २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको बजेट ल्याएको छ । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी समेत समाल्नुभएका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार बजेट सार्वजनिक गर्नुभएको छ । 

बजेटमा पूजीगत १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार  रुपैयाँ विनियोजन गरिएको छ ।  वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख जुटाउने कोशी सरकारको लक्ष्य छ ।  राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख पुर्याउने योजना छ ।  संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ७८ करोड ३८ लाख प्राप्त हुने बजेटमा उल्लेख गरिएको छ ।  सशर्त अनुदानबाट ५ अर्ब ८४ करोड ३२ लाख, समपूरक अनुदानबाट ७३ करोड  आउने कोशी प्रदेशको लक्ष्य छ । विशेष अनुदानबाट ७६ करोड गरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ  जुटाइएको छ ।

मुख्यमन्त्री कार्कीले बाँकी रकम चालु आर्थिक वर्षको नगद मौज्दात ३ अर्ब ७५ करोड १ लाख र वैदेशिक अनुदानबाट १५ करोड ४ लाख ६० हजार रुपैयाँ जुटाइने बताउनुभएको छ । 

कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रममा लागि १ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । त्यसबाट पूर्वाधार विकास कार्यक्रममा लागि  प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र  समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन् ।


ताजा समाचार