
काठमाडाैं । भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्शाकाे विषयमा स्पष्ट पार्दै नक्शा विषयका बारेमा छिमेकी मुलुकहरूले बुझिसकेका छन् भन्ने आफूलाई लागेको बताउनुभएको छ ।
भारतको नवनिर्मित संसद् भवनमा राखिएको भित्ते नक्शमा नेपालको समेत केही भूभाग समेटिएको भन्दै नेपालमा समेत विषयमा कुरा उठिरहेका बेला उहाँले आज नयाँ दिल्लीमा सञ्चारकर्मीसँग कुरा गर्दै स्पष्ट पार्नुभएको हो ।
नक्शाका सम्बन्धमा यसअघि मन्त्रालयका प्रवक्ताले स्पष्ट पारिसकेको उल्लेख गर्दै विदेशमन्त्री जयशङ्करले नक्शाकै तल साइनबोर्डमा ऐतिहासिक अशोक साम्राज्यको नक्शाका बारेमा वर्णन गरिएको समेत बताउनुभयो ।
यो राजनीतिक विषय बन्न नहुने बताउँदै र छिमेकी मित्र मुलुकहरूले यो विषयका बारेमा बुझिसकेका छन् भन्ने आफूलाई लागेको उल्लेख गर्दै उहाँले छिमेकी मुलुकहरूलाई स्पष्टिकरण चाहियो भने पनि त्यो ठूलो कुरा नभएको धारणा व्यक्त गर्नुभयो ।