
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा प्रधानमन्त्री पुष्पकमल दाहालको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाउनुभएको छ ।
एमाले अध्यक्ष ओलीले बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा सरकारको नेृतृत्व गरिरहेको नेमाओवादी नै कोशी प्रदेश नामकरण विरुद्ध लागेको उल्लेख गर्नुभयो । माओवादीले पहिला कोशी प्रदेश नामकरणमा साथ दिएको र पछि पुनर्विचार गर्नुपर्छ भनेर भड्काइरहेको ओलीको भनाई छ ।
‘प्रचण्डहरुको यसमा प्रत्यक्ष संलग्नता देखिन्छ। नाम राख्ने, अलि पछि गल्ती भो भन्ने अब पुनर्विचार गर्नुपर्छ भन्ने त्यता मान्छे भड्काउन थाल्ने’ उहाँले भन्नुभयो – कोशी नामाकरणविजरुद्धको आन्दोलनलाई प्रोत्साहित गरेको छ, प्रोटेक्सन गरेको छ प्रचण्ड सरकारले। गुण्डाहरु न नियन्त्रण गर्छ, न गिरफ्तार गर्छ न केही गर्छ ।’
ओलीले कोशीमा नामकरणविरुद्ध भइरहेको आन्दोलनको एमालेले प्रतिवाद गर्ने बताउनुभयो । ‘अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो’ उहाँले भन्नुभयो– किनभने सरकारले यस्तो गराइरहेको छ भने एमाले चुप लागेर बस्न सक्दैन यस्तोम । ‘हाम्रो कार्यकर्ताको रक्षा हामी आफैंले गर्नुपर्छ ।’