
काठमाडौं । सरकारले विदेश भ्रमणमा लगाम लगाउने भएको छ । सेवा आयतर्फ निरन्तर घाटा भएपछि सरकारले आगामी आर्थिक वर्षदेखि वैदेशिक भ्रमणमा लगाम लगाउने तयारी गरिएको हो ।
सरकारले आर्थिक वर्ष २०८०, ८१ को विनियोजन विधेयकमार्फत सेवातर्फको भ्रमण शीर्षकलाई थप कडाइ गर्दै ५ प्रतिशत शुल्क (ट्याक्स) लगाउने घोषणा गरेको छ
जसले नेपालीहरूलाई विदेश भ्रमण निरुत्साहित गर्नुका साथै विदेशी मुद्रा सञ्चिति समेत हुने सरकारको अपेक्षा छ ।तीव्र आर्थिक सङ्कटका बीच आर्थिक वर्ष २०७९, ८० को ९ महिनामा मात्र भ्रमण शीर्षकमा कूल ९१ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको केन्द्रीय बैंकको तथ्याङ्क छ ।
गत आर्थिक वर्ष २०७८, ७९ को चैत मसान्तसम्म ६५ अर्ब ५४ करोड रुपैयाँ बाहिरिएकोमा यस वर्ष भ्रमण शीर्षकमा ३९.८ प्रतिशतले खर्च बढेको हो । पछिल्ला दिन सबैभन्दा बढी शैक्षिक भ्रमणका नाममा मुलुकबाट पैसा बाहिरिएको छ । केन्द्रीय बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा शैक्षिक व्ययतर्फ ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको छ ।