
काठमाडौ । देशका अधिकांश ठाउँमा अझै केही दिन गर्मी बढ्ने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अधिकांश भूभागमा अझै केही दिन गर्मी बढ्ने बताएको छ ।
मौसमविद् विनु महर्जनका अनुसार पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय नभएकाले तत्काल पानी पर्ने सम्भावना नरहेकाले अझै केही दिन गर्मी बढ्नेछ । केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशभर गर्मी बढेको छ भने जनजीवन प्रभावित भएको छ। पछिल्लो पाँच दिनदेखि आकाश खुला भई निरन्तर चर्को घाम लागिरहेको छ । यससँगै अधिकतम तापक्रम पनि बढिरहेकाले बढी गर्मी महसूस भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ ।
पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी बढेको महाशाखाका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । उहाँका अनुसार मनसुन नभित्रिएसम्म तापक्रम केही दिन बढ्नेछ । तराई क्षेत्रमा मौसम सफा रहने हुनाले अझै गर्मी बढ्ने उहाँको भनाइ छ । तराईका अधिकांश स्थानमा पाँच दिनसम्म तातो हावा तथा लू को सम्भावना रहेको मौषम विभागले जनाएको छ । विभागले सिङ्गो मधेश प्रदेश तथा बागमती, लुम्बिनी र कोशी प्रदेशका तराईका कतिपय क्षेत्रलाई चेतावनीको स्तरमा राखेको छ। यी स्थानमा तातो हावा एवं लूबाट बच्न सचेतना अपनाउन आग्रह गरेको छ ।
यस बाहेक तराईका सबै क्षेत्रमा गर्मीबाट बच्न चनाखो रहन भनिएको छ। भित्री मधेशका क्षेत्रमा पनि सम्भावित अत्यधिक गर्मीबाट जोगिन सचेत रहन आग्रह गरिएको छ। मौसम विज्ञान विभागले तातो हावा तथा लूबाट बच्न घरभित्र वा चिसो ठाउँमा रहन, घाममा हिंडडुल नगर्न, हलुका लुगा लगाउन, घरबाहिर निस्कँदा कपडा वा अरू कुराले टाउको छोप्न, पानी र झोल पदार्थ पर्याप्त पिउन सुझाव दिएको छ । तातो हावा तथा लू का कारण अत्यधिक थकान हुने, कमजोरी हुने, तिर्खा लाग्ने, बेहोस हुने, वान्ता हुने लगायत जोखिम निम्तन सक्ने भएकाले स्वास्थ्यको ख्याल गर्न आग्रह गरिएको छ ।