
काठमाडौं। चारदिने भ्रमणमा नयाँदिल्ली रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
नयाँदिल्लीस्थित राष्ट्रपति कार्यालयमा प्रधानमन्त्री दाहाल र मुर्मुबीच बिहीबार भेटवार्ता भएको हो । भारतीय राष्ट्रपतिसँगको भेटवार्तामा द्विपक्षीय हितका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
भारतीय राष्ट्रपतिसँगको भेटवार्तामा नेपाली प्रतिनिधिमण्डलको सहभागिता रहेको थियो। प्रधानमन्त्री दाहालले बिहिीबार नै भारतीय उपराष्ट्रपति जगदीप धनखडसँग पनि भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले त्यसअघि हैदरावाद हाउसमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्रीद्वयको भेटवार्तापछि दुई देशका बीच विभिन्न विषयमा ७ वटा सहमति तथा सम्झौतामा हस्ताक्षर भएको छ । प्रधानमन्त्री दाहालको सम्मानमा भारतीय समकक्षी मोदीले हैदरावाद हाउसमै दिवाभोज आयोजना गर्नुभएको छ ।