
काठमाडौं । नेपाल र भारतबीच २५ वर्षका लागि विद्युत व्यापारको प्रारम्भिक सम्झौता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार (लङटर्म पीपीए)का लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको हो ।
प्रधानमन्त्री दाहाल र भारतीय प्रधमामन्त्री नरेन्द्र मोदीबीच बिहिबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको थियो । त्यसपछि नेपाल र भारतका प्रतिनिधिमण्डलबीच भएको वार्तामा सो संझौता भएको हो । सम्झौताममा नेपालकातर्फबाट ऊर्जा सचिव दिनेशकुमार घिमिरे र भारतका तर्फबाट भारतीय समकक्षी श्रीआलोक कुमारले हस्ताक्षर गर्नुभएको हो ।
नेपालले भारतसँग दीर्घकालीन विद्युत् व्यापारबारे अन्तरसरकारी सम्झौता गर्न प्रस्ताव गरेको थियो । यसैअनुसार भारतले २५ वर्षका लागि सम्झौता गर्ने सहमति जनाएको हो । प्रधानमन्त्री प्रचण्डसँग हैदराबाद हाउसमा भएको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भारतले १० वर्षभित्रै नेपालको १० हजार मेगावाटसम्म बिजुली किन्ने लक्ष्य राखेको बताउनुभयो ।
मोदीले आफूहरुले भविश्यमा आफ्नो समझदारी सुपर हिट बनाउन महत्वपूर्ण निर्णय लिएको उल्लेख गर्नुभयो । मोदीले भारत र नेपालबीचको ‘हिट’ मित्रतालाई ‘सुपर हिट’ बनाउनका लागि थुप्रै महत्वपूर्ण निर्णयहरू भएको दाबी गर्नुभएको हो । नेपाल र भारतबीच ‘ट्रान्जिट एग्रिमेन्ट’ भएको र यसमा नेपाली जनताका लागि नयाँ रेल्वे रुटसँगै भारतको इनल्यान्ड वाटरवेजको सुविधा पनि प्रदान गरिएको मोदीले उल्लेख गर्नुभएको छ । नयाँ रेल लिंक्स स्थापना गरेर फिजिकल कनेक्टिभिटिलाई बढाउने निर्णय लिइएको, क्रस बोर्डर डिजिटल पेमेन्टको माध्यमबाट हजारौँ विद्यार्थी, लाखौँ पर्यटक र तीर्थ यात्रीसँगै स्वास्थ्य उपचारका लागि भारत आउने बिरामीहरूलाई प्रत्यक्ष लाभ पुग्ने उहाँको भनाइ छ ।