
काठमाडौं । प्रहरीको अनुसन्धानपछि नक्कली भुटानी शरणार्थी प्रकरण अब न्यायालयमा पुगेको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौं ठगी गरेको यो प्रकरणमा सार्वजनिक पदधारण गरेका उच्च पदस्थहरू मुछिएको घटनामा केही पक्राउ परेका छन् भने केही फरार छन ।
अबको अग्निपरीक्षा अदालतमा हुनेछ । प्रहरीले अनुसन्धान गरेर प्रतिवेदन पेश गरेपछि यो प्रकरणको टुंगो लगाउने जिम्मा अदालतको काँधमा पुगेको हो ।
त्यकारण पनि अब सबैको नजर न्यायालयतर्फ केन्द्रित भएको छ । न्यायालयले आफूसमक्ष पेस भएको प्रमाणलाई नै अन्तिम आधार मान्ने हो । तर, आफ्नै नागरिकलाई नक्कली शरणार्थी बनाई विदेश पठाउन खोज्नु राज्यविरुद्धको अपराधमा पीडितको बयान सबैभन्दा ठूलो प्रमाण हो ।
प्रहरीले हालसम्म पक्राउ परेका १७ सहित अन्य १६ जनालाई फरार करार गर्दै उनीहरुविरुद्ध कम्तीमा चार मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन बुझाएको हो ।यस प्रकरणमा संलग्न गिरोहले एक अर्ब बढी रकम असुल गरेको अनुमान गरिएको छ । १०६ जना पीडित रहेको यो मुद्दामा २७ करोड २० लाख बिगो कायम गरी मुद्दा चलाउन प्रहरीले राय दिएको छ । भुटानी शरणार्थी बनाउने नाममा ठगी भएको उजुरी गत वर्ष जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको थियो ।
त्यसको करिब १० महिनापछि गत चैत १२ मा तीन आरोपीलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । यस प्रकरणमा हालसम्म पूर्वउप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वसांसद आङटावा शेर्पा, पूर्वगृहसचिव एवं हाल उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका उच्च पदस्थहरू पक्राउ परेका छन् ।
यस्तै ठगीमा संलग्न सन्दीप रायमाझी, नरेन्द्र केसी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, रामशरण केसी र गोविन्द चौधरीलाई र पछिल्लो समय लक्ष्मी महर्जनलाई पनि पक्राउ गरेको छ । पूर्वगृहमन्त्री थापाका छोरा प्रतीक, पूर्वगृहमन्त्री थापाको सुरक्षा सल्लाहकार राईका छोरा नीरज फरार छन् ।