
काठमाडौं । प्रतिनिधिसभा उपसभामुख इन्दिरा रानाले सबै महिलालाई निःशुल्क सेनिटरी प्याडको व्यवस्था हुनेगरी बजेट ल्याउन सरकारसँग आग्रह गर्नुभएको छ ।
एक्सपोज नेपालले शनिबार ललितपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उपसभामुख रानाले सेनिटरी प्याडको आवश्यक व्यवस्था मिलाउन छुट्टै राष्ट्रिय योजना, कार्यक्रम र बजेट हुनुपर्ने बताउनु भएको हो । त्यस अवसरमा उहाँले महिला सांसदहरुका लागि संघीय संसद भवनमै सेनिटरी प्याडको व्यवस्था गर्न लागि पर्ने समेत बताउनुभयो । उपसभामुख रानाले सबै विद्यालयमा पनि सो प्याडको आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले महिलाहरुलाई हिंसा सहेर नबस्न पनि पटकपटक आग्रह गर्नुभएको छ ।
नेपालमा महिला हिंसाको घटना कम नभएकाले त्यसविरुद्ध महिलाले आवाज उठाउनुपर्ने उपसभामुख रानाको भनाई छ । उपसभामुख रानाले महिलाहरुको क्षेत्रमा धेरै राम्रो काम गरेको भन्दै एक्सपोज नेपालको प्रशंशा पनि गर्नुभयो ।