Logo

रवि लामिछानेको सांसद पद खारेज माग्दै सर्वोच्च अदालतमा रिट


Nagarik Abaj १० जेष्ठ २०८०, बुधबार २०:५४ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद खारेज माग्दै सर्वोच्च अदालतमा फेरि रिट दर्ता भएको छ । 

लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर युवराज पौडेलले पेश गर्नुभएको रिट निवेदन दर्ता भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभएको छ । लामिछानेविरुद्ध पेस भएको रिट सर्वोच्च अदालतले बुधवार दर्ता गर्दै जेठ १७ गते पेशी तोकेको छ । रिटमा लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गर्ने आदेशको माग गरिएको छ । 

लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पेस गर्न नसकेको जिकिर पनि रिट निवेदनमा गरिएको छ । रिट निवेदनमा लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई विपक्षी बनाइएको छ । लामिछानेले अमेरिकी नागरिकता त्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्त गर्नुपर्नेमा पुरानै नागरिकताको प्रतिलिपिमात्रै लिएको दाबी गर्दै युवराज पौडेलले अर्को मुद्दा दर्ता गराउनुभएको हो । 

यसअघि नागरिकता विवादमा सर्वोच्च अदालतको आदेशपछि लामिछानेको सांसद र उपप्रधानमन्त्री पद गुमेको थियो । पुरानो नागरिकता फेरि लिएपछि उहाँ उप–चुनावबाट प्रतिनिधि सभामा पुनः निर्वाचित हुनुभएको छ ।


ताजा समाचार