
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सत्तारुढ दलहरुसँग छलफल गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलमा आवद्ध नेताहरुलाई बोलाएर सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे सुझाव लिनुभएको हो ।
सरकारले यही जेठ ५ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यसैका लागि सुझाव लिन मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा प्रधानमन्त्री दाहालले सो सम्बन्धमा सत्तारुढ दलका नेताहरुको पनि सुझाव दिनु भएको सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिनुभएको छ । समयअभावका कारण केही दलका नेताहरुले सुझाव दिन नभ्याएसम्म भोलिसम्ममा लिखित रुपमा सुझाव पठाउन पनि प्रधानमन्त्री दाहालले आग्रह गर्नु भएको थियो ।
कृषि, उद्योग, शिक्षा र स्वास्थ्य क्षेत्रमा भएका समस्या समाधान हुने गरी बजेट ल्याउन सरकारलाई सुझाव दिइएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो । आफूहरुले दिएको सुझाव कार्यान्वयन गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको उहाँको भनाई छ ।